बुधबार बिहानदेखि गाउँ शहरमा तीजको उल्लास छाइरहेको थियो। महिला दिदीबहिनीहरू नयाँनयाँ लत्ताकपडा लगाएर रंगीचङ्गी पहिरनमा देखिन्थे।
धनगढीका शिवालयमा बिहानै देखि घन्किरहेका थिए गीतहरू। सडकमा नारीहरूको बाक्लै आवातजावत देखिन्थ्यो।
पुजा समाग्री सहित शिवालयतिर यात्रारत देखिन्थे हूलका हुल महिला, बालिका र किशोरीहरू। सडकमा बाक्लै आवातजावत देखिन्थ्यो महिलाहरूको।
शिवालयहरूमा पुगेर नारीहरूले एक आपसमा खुसी साटासाट गर्दै डिजेमा घन्किएका तीजका गीतमा नाच्दै गरेको दृश्य हेर्नलायक थियो।
कम्मर मर्काउँदै आपसमा खुसी साटासाट गरिरहेका थिए।
भीडमा बालिका, तन्नेरीदेखि उमेरले ढपक्क छोपेका महिलाहरू निकै उत्साहित देखिन्थे।
तर एकातिर नारीहरूको उत्साह, उमङ्ग चलिरहेको थियो भने अर्कोतिर लक्ष्मी शाहनीलाई न तीजको रमझमले छोयो, न सडकको धुलोले नै।
उनलाई छोएको थियो मात्र आफ्नै दैनिकीले।
धनगढी चौराहबाट झण्डै २ सय मिटरको दुरीमा छ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय। मन्त्रालयको गेटकै अगाडीको सडकमा थियो एउटा ठेला। त्यही ठेलामा फुसफुसाइरहेका थिए भिजेका दाउरा।
आँगो छेउमा थिए मकैका घोकाहरू। छिनछिनमा निभ्दै गरेको आँगो बाल्दै बिक्रीका लागि ठिक्क पार्ने कोसिश गर्दै थिईन् तिनै ९ वर्षिया बालिका लक्ष्मी साहानी।
लक्ष्मीलाई सडकको रंगीचङ्गीको कुनै वास्ता थिएन थियो त केवल मकै बिक्रि गरेर खर्चको जोहो गर्नु मात्रै।
उनीलाई थाहा छैन तीजको रमझम कस्तो हुन्छ। छिनछिनमा लक्ष्मीतिर सोझिंदै थियो धुँवा।
हो त्यही धुँवाको कारण लक्ष्मीका आँखाबाट आँसुका थोपाहरू तपतप खस्दै थिए र लक्ष्मीले पटक/पटक भोटोको साहारामा आँखा मिच्दै थिईन्।
भारतीय मुलका आमाबुबाबाट कान्छी सुपुत्रीका रुपमा जन्मिएकी लक्ष्मी धनगढी उप–महानगरपालिका वडा नम्बर २ मा बस्छिन्।
लक्ष्मीका तीन जना दाई छन् भने उनी घरकी सबैभन्दा कान्छी हुन्।
स्थानीय जनता माध्यमिक विद्यालयमा कक्षा ४ मा पढ्ने लक्ष्मीले साँझबिहानको समयमा ठेलाको काममा आमाबुबालाई सघाउँदै आएकी छिन्।
दिनेश खबरसँगको कुराकानीमा धेरै कुरा त बोलिनन् तर पनि भनेकी हुन्– ‘दिनमा स्कुल पढ्छु, बिहान साँझको समयमा आमाबुबालाई काममा सघाउँदै आएकी छु।’
करिब २० वर्ष पहिले परिवारसहित नेपाल छिरेका लक्ष्मीका बुबा फाँगुनीले धनगढी महेन्द्रनगरमा विगतदेखि नै ठेला व्यवसाय गर्दै आएका हुन्।
उनले यसअघि ठेलामै माछाको व्यापार गर्दै आएका थिए भने मकैको सिजन भएकाले यतिखेर मकै बेच्न थालेका हुन्।