हेटौंडा , कार्तिक १२, २०७५ ।
हर्नामाडी ठूलोदमारका शंकर आलेलाई धान काट्न खेताला खोज्ने झन्झट गर्नुपरेन ।
गत वर्ष धान पाकिसक्दा समेत खेताला नभेटेर धान भित्र्याउन परेको हैरानी उहाँले अहिले पनि बिर्सन सक्नुभएको छैन ।
तर, यस वर्ष गाउँमा धान काट्ने मेसिन भित्रिएपछि खेताला खोज्ने झन्झटिलो काम टरेको छ ।
पहिला गाउँभर खेताला खोज्दासमेत नभेटेको तर यस वर्ष भने मेसिनले सजिलो पारेको उहाँले बताउनुभयो ।
अघिल्ला वर्षहरुमा धान झार्न थ्रेसर प्रयोग गरे पनि धान काट्ने मेसिन भने यस वर्षमात्र हर्नामाडीमा भित्रिएको हो ।
काट्न पनि मेसिन प्रयोग गरेपछि बिटा उठाउन र धान थन्काउन मात्र मान्छेको आवश्यकता पर्ने आलेले बताउनुभयो ।
हाल हर्नामाडीमा हसियाँ बोकेर खेतालाको लावालस्कर देखिन छाडेको छ ।
धान लगाएका किसानहरु मेसिनतर्फ आकर्षित छन् । किसान बिन्दा रिजालको नौं कठ्ठाको खेतमा मेसिन लगाउँदा एक घण्टामात्र लाग्यो ।
उहाँले १ हजार ४ सय रुपियाँमात्र ज्याला तिर्नुभयो ।
रिजालले भन्नुभयो–अघिल्ला वर्षहरुमा आठ जनाको हाराहारीमा खेताला लगाएर ३ हजार २ सय ज्याला खर्चिनुपथ्र्यो ।
तर, यसपालि भने त्यतिका रकम खर्चिनुपरेन ।
उहाँले खुशी हँुदै भन्नुभयो–खेताला खोज्न गाउँ डुल्नु पर्दाको पीडा अब अन्त्य भएको छ ।
हर्नामाडीमा बाराका मानबहादुर साहले मेसिन ल्याउनुभएको हो ।
उक्त मेसिनले हर्नामाडीका किसानको दैनिक जीवन नै फेरिदिएको छ ।
एक बिघासम्म धान काट्न एक दिन मेसिन लगाउँदा काफी हुने स्थानीय केदार बिष्टले बताउनुभयो ।
‘एक त खेताला नपाइने, पाइए पनि धेरै ज्याला लाग्ने अवस्थामा मेसिन प्रयोगले लागत र समय दुवैको बचत भएको छ,’ उहाँले भन्नुभयो ।
दैनिक चार सय रुपियाँमा पाइने गरिएका कृषि मजदुरको अचेल चर्को अभाव झेल्नुपरेको हर्नामाडीका रमेश तामाङ बताउनुहुन्छ ।
काम गर्नसक्ने युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका, कतिपय भारतीय सहरमा रोजगारीका लागि गएका र विभिन्न कारण गाउँमा कृषि मजदुरको अभाव चर्किएको हो ।
गाउँका मजदुरहरु समेत निर्माण क्षेत्रमा लाग्न थालेपछि गाउँमा धान काट्न, थन्काउन र जोत्न मजदुर पाइनै छाडेको छ ।
यसको बिकल्प बनेको छ मेसिन ।