उर्लाबारी ,वैशाख २५ गते ।
अल्पसंख्यक धिमालहरु यतिबेला आफ्नो प्रमुख पर्व जात्री मनाइरहेका छन् ।
प्रदेश नं.१ को झापा,मोरङमा धिमालहरूको बसोबास रहेको छ ।
हरेक वर्षको वैशाख २ गते धिमाल जातिको उद्गमस्थल मोरङको भोगटेनीस्थित राजारानीमा महाराजस्थानमा पूजाआजा गरेपछि जातिरी(जात्री) दुई महिना सम्म मनाइन्छ ।
भोगटेनीबाट सुरु भएको जात्रि धिमाल बस्तीको टोलटोलमा मनाउने गरिन्छ ।
धिमालहरु प्रकृतिपुजक हुन् । उनीहरू रोग व्याधी नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामना सहित हाँस कुखुरा, सुँगुर लगायतको बलि दिएर महाराजस्थानमा गएर सामूहिक पूजाआजा गर्ने गर्छन् ।
परापूर्वकालमा धिमालहरुले यी समस्याहरु समाधान गर्न ग्रामथानमा पूजा गर्दा कामना पुरा भएपछि यसलाई निरन्तरता दिदै जात्री मनाउन थालिएको जनविश्वास छ ।
पर्वमा सालीआमाई देवीलाई धिमाल समूदायले बिरामी निको पार्ने देवीको रुपमा पूजा गर्छन् ।
सालीआमाईको पूजामा कुनै सामग्रीको अपुग भए मानिसमा रोग व्याध लाग्ने र उनले दुख दिने मान्यता चलनमा रहेको छ ।
त्यस्तै जला(पारवती) आमाईको पूजा खास गरी बाढी पहिरो,खोलानालाले दुख नदेओस भनेर गर्ने गरिन्छ ।
धन सम्पति प्राप्त होस ,श्री वृद्धि होस ,खान लाउन अनिकाल नलागोस,प्रशस्त कृषि उत्पादन होस भनेर लक्ष्मीआमाईको पूजा गर्ने गरिन्छ ।
स्थानीय बुढापाकाहरूका अनुसार ःज्ञान प्राप्त होस ,कोही पनि अज्ञानी नहुन, शिक्षा र वुद्धि विवेक प्राप्त होस भनेर सरस्वती आमाईको पूजा गर्ने गरिन्छ ।
धिमाल जातिका महिलाहरू मेलामा ।
खेतीपातीका सामग्री र लगाउन चाहिने लुगा बुन्न आवश्यक धागो,कपडा,तन्नाको कहिल्यै अभाव नहोस भनेर टुकुनी आमाइको पूजा गर्ने गरिन्छ । सानासाना बाल बच्चालाई दुख नहोस, रोग व्याधी नलागोस,सधै रेखदेख गरुन भनेर डिङडिङ आमोइको पूजा गर्ने गरिन्छ ।
र सबै जातिका लागि लुगा उत्पादन गर्न सकियोस,अन्न फलाउन सकियोस भनेर ढाले आमाईको पुजा गर्ने गरिन्छ ।
यसका अतिरिक्त धिमाल जातिले चार वटा माझी देवतालाई पनि पुजा गर्ने गर्छन् । जसलाई चौमाझी भनिन्छ ,ढुढा ठाकुर ,याउ माझी,साउ माझी र धरम ठाकुर ।
धरम ठाकुर भनेको देवताको पनि देवता हो । खासगरी धिमालहरू खोलानालाको छेउमा रहेको ठूलो रुखको भेदमा थान बनाई
देवताको पूजा गर्ने गर्छन् । सोही थानमा मिठो मसिनो माछामासु पकाउने ,आफन्त नातेदार बोलाउने र खाने गर्छन् । यो चलन अझै पनि निरन्तर चलिरहेको छ ।
ढोलको आवाज ढङ ढङ… आउने हुनाले कतिपयले जात्रीलाई ढङढङे पनि भन्ने गरेका छन् ।
खोलानाला, रुख बिरुवा र माटोको पनि पूजा हुन्छ यसलाई ग्रामपूजा पनि भनिन्छ । असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका ९८ वटै टोलहरुमा मनाइने गरिएको छ । पछिल्लो समय काठमाडौंमा पनि धिमालहरुले यो पर्व मनाउने गरेका छन् ।
जात्रीमा धिमालहरु आफूले भाकल गरे अनुसार वस्तु चढाउने पनि गर्दछन् । यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरुलाई मासु तथा ‘चिचिरी’,‘बगिया’ लगायतका परिकार खुवाउने गरिन्छ ।
जुन गाउँमा जात्री मेला लाग्छ, त्यस गाउँका धिमालका घरघरमा पाहुना आउने गर्छन् ।
दमक झापाकी सोनिका धिमालले भन्नुभयो भेटघाट पनि हुन्छ । पर्वको जगेर्ना पनि हुन्छ ।
पाहुनालाई पर्व भरि मेजमानी गरिन्छ । खासगरी यो पर्वलाई चेलीबेटीहरु माइत आउने अवसरको रुपमा लिन्छन् ।
आदिवासीको रुपमा रहेका धिमालहरु जात्री पर्वको अवसरमा हिलोको पनि पूजा गर्छन् ।
नराम्रो जस्तो लाग्ने हिलोबाट मानव जातिलाई पालनपोषण गर्ने राम्रो अन्नको उत्पादन हुन्छ भन्ने मान्यता उनीहरुको ।
यसपर्वमा लाग्ने मेलामा आएका युवकले युवतीलाई युवतीले युवकलाई पान,सुपारी,छोकडा दिँदा यदि लिएर खाएमा प्रेमप्रस्ताव स्वीकार गरेको बुझ्ने गरिन्थ्यो ।
पछि यस कार्यले विकृति निम्त्याउदै नकारात्मक असर परेकोले हटाइएको बुढापाकाहरु बताउँछन् ।