सिन्धुपाल्चोक –
महिला सशक्तीकरणका लागि स्थानीय तहले प्रभावकारी काम गर्ने जनप्रतिनिधिहरूले प्रतिबद्घता जनाएका छन्।
चौतारा–साँगाचोकगढी नगरपालिकामा आयोजित स्थानीय तहको नीतिपैरवी संवाद कार्यक्रममा बोल्दै प्रमुख अमानसिंह तामाङले महिला अधिकार तथा सशक्तीकरणका लागि कार्यक्रम ल्याउन लागेको जानकारी दिए।
उपप्रमुख जानुका पराजुलीले नगरपालिकाले स्थानीयस्तरमै महिलाका निम्ति रोजगारीमूलक कार्यक्रम ल्याउन लागेको बताइन्। महिला उत्थानका लागि समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ।
वैदेशिक रोजगारीमा जान चाहने महिलाका लागि आवश्यक सूचना दिन आगामी वर्षदेखि थप कार्यक्रम ल्याउने नगरपालिकाको तयारी छ। ‘सूचना, सीप र स्रोतमा महिलाको पहुँच नहुँदा वैदेशिक रोजगारमा गएका महिला बेचबिखन, दुव्र्यवहार आदिको उच्च जोखिममा छन्। सिन्धुपाल्चोकमा भूकम्पपछि वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेको छ,’ पराजुलीले भनिन्।
स्थानीय सरकारले अब बनाउने नीतिमा महिलाका आर्थिक अधिकार तथा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने तरिकाबारे अधिवक्ता मिलन श्रेष्ठले कार्यपत्र प्रस्तुत गरे। सहभागीले वडास्तरमै वैदेशिक रोजगारीमा जान चाहने महिलालाई आवश्यक जानकारी दिने व्यवस्था मिलाउनुपर्ने र म्यानपावर कम्पनीलाई स्थानीय सरकार मातहतमा ल्याउनुपर्ने धारणा राखे।
युएन वुमनको सहयोगमा इक्वेल एक्सेसको नेतृत्वमा सञ्चालित महिलाको आर्थिक सशक्तीकरणका लागि सही हो भन्ने अभियानअन्तर्गत यस्ता पैरवी कार्यक्रम सञ्चालित छन्। अन्य जिल्लामा पनि कार्यक्रम विस्तार गर्ने योजना रहेको आयोजक सामुदायिक सारथिका कार्यकारी निर्देशक ताराबहादुर भण्डारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस