काठमाडौँ, चैत ११ गते । नेकपा (माओवादी केन्द्र)ले एमालेसँग जारी पार्टी एकीकरण प्रक्रिया छिट्टै टुङ्गयाउन प्रस्ताव गरेको छ । माओवादीको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै पार्टी एकता टुङ्गयाउन प्रस्ताव गरेको माओवादी नेता विश्वनाथ साहले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले चैत २३ देखि भारत भ्रमण गर्ने तयारी गर्नुभएकाले त्यसअघि नै पार्टी एकता घोषणा गर्न प्रस्ताव गरेको नेता साहले बताउनुभयो। यस अघि नेकपा (एमाले) र माओवादी केन्द्रबीच वैशाख १० गते पार्टी एकीकरणको घोषणा गर्ने सहमति भएको थियो । यही सहमतिका आधारमा अहिले दुवै पार्टीले एकीकरणका लागि गृहकार्य अन्तिम चरणमा समेत पुऱ्याएका छन् । एकता प्रक्रियालाई अघि बढाउन गठन गरिएका दुई कार्यदलले आ–आफ्नो प्रतिवेदन तयार गरिरहेका छन् । दुवै कार्यदलले १० दिनभित्र प्रतिवेदन दिने बताइएको छ । प्रतिवेदन आएपछि त्यसलाई अन्तिम रूप दिएर पार्टी घोषणा हुने साहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस