शनिबार, २३ फागुन २०८२

प्रदेश ४ को नाम गण्डकी प्रदेश, राजधानी पोखरा

काठमाडौं, जेठ २१ प्रदेश राजधानी तथा नामांकन समितिले प्रदेश नम्बर चारको नाम गण्डकी प्रदेश र राजधानी पोखरा राख्न उपयुक्त रहेको सुझाव दिएको छ । राजधानी तथा नाम सिफारिस गर्न गठन भएको समितिले जिल्लागत रुपमा आएका सुझाव, धारणा र मागलाई प्रतिवेदनका रुपमा संसद बैठकमा पेश गरेको छ । सुझाव लिएका ९०५ जना अर्थात् ९३ प्रतिशतले राजधानी पोखरा भनेका छन् भने ३ प्रतिशतले गोरखा र बाँकीले अन्य ठाउँ बनाउन सुझाव दिएका समितिले जनाएको छ । प्रदेशका ११ जिल्लाबाट र दलगत रुपमा आएको सुझावका आधारमा प्रादेशिक राजधानी पोखरा राख्न सुझाव दिइएको समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले बताए । नामका सम्बन्धमा सबैभन्दा बढी गण्डकी प्रदेशको पक्षमा देखिएका छन् । जिल्लागत छलफलमा भाग लिएका ३ सय ४६ व्यक्ति तथा संस्था अर्थात ४५ प्रतिशतले गण्डकी प्रदेश राख्न सुझाव दिएका छन् । तमुवान–मगरात प्रदेश राख्न माग गर्ने संख्या पनि ठूलो देखिएको छ । समितिका अनुसार जनमतमा भाग लिएका २ सय ६० अर्थात् ३४ प्रतिशतले तमुवान–मगरात प्रदेश राख्न माग गरेका छन् । ८ जिल्लाबाट प्रदेशको नाम गण्डकी राख्न माग भएको छ भने ३ जिल्लाका व्यक्तिले तमुवान–मगरातलगायत नाम राख्न माग गरेका छन् । अब अर्को बैठकको दुईतिहाई बहुमतले नामको टुंगो लगाउने छ । समितिको प्रतिवेदनअनुसार प्रदेशको नाम गण्डकी हुने पक्काजस्तै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस