शनिबार, २३ फागुन २०८२

माथिल्लो दोेर्दी ‘ए’ को ७५ प्रतिशत काम पूरा

लमजुङ, असार २९ गते । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य ७५ प्रतिशत पूरा भएको छ । लमजुङको दोर्दी खोलामा निर्माणधीन २२ मेगावाटको आयोजना निर्धारित समयमा पूरा हुने दाबी प्रवद्र्धकले गरेको छ । प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी कम्पनीका सञ्चालक राजेन्द्र वस्तीका अनुसार बाँध, सुरुङ, पाइपलाइन, विद्युत्गृह लगायतका संरचना निर्माण भइरहेका छन् । आयोजनाको निर्माणकार्य २०७५ भित्र सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार नेपाल विद्युत् प्राधिकरणले व्यावसायिक विद्युत् उत्पादन २०७६ कात्तिकमा तोके पनि सो समय अगावै विद्युत् उत्पादन हुने दाबी गरेको छ । बाँधको क्षेत्रमा पानीको बहावले काम गर्न सकेका छैनौ । फाउन्डेसनको काम भने सबै पूरा भएको छ, उहाँले भन्नुभयो । आयोजनाको बाँध क्षेत्रमा ६० प्रतिशत काम सकिएको आयोजनाका फिल्ड व्यवस्थापक टेकेन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार दुई हजार ८२० मिटर लामो पाइप लाइनको ९० प्रतिशत काम सकिएको छ । दुई हजार ७०० मिटर लामो सुरुङ संरचना रहेकोमा दुई हजार ४०० मिटर खनिसकिएको छ । ८२ मिटर अडिट टनेल रहेको छ । आयोजनामा सुरुङ र पाइप दुवै रहने गरी डिजाइन गरिएको छ । विद्युत् गृहको ५० प्रतिशत निर्माण सकिएको उहाँले बताउनुभयो । विद्युत्गृहमा जडान हुने जेनेरेटर र टर्बाइन आउन तीन महिना लाग्ने प्रवद्र्धक कम्पनीले जनाएको छ । आयोजनाको विद्युत्गृह भूमिगत हुनेछ ।  उत्पादन हुने विद्युत्गृह आधा किलोमिटरको दूरीमा निर्माण हुने १३२ केभी लमजुङको दोर्दी गाउँपालिका कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसन नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्नेछ । २०७१ फागुनबाट सुरु गरिएको आयोजनाको कुल चार अर्ब रुपियाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल ईन्भेस्टमेन्ट बैङ्कको नेतृत्वमा नौवटा बैङ्कले लगानी गरेका छन् । आयोजनामा बैङ्कको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको स्वपुँजी लगानी छ । रन अफ रिभर (नदीको बहावमा आधारित) सो आयोजनाको प्रभावित क्षेत्र (ढोडेनी, फलेनी) को विकासका लागि छ करोड रुपियाँ विनियोजन गरेको छ ।  आयोजना निर्माण अवधिमा साढे दुई करोड रुपियाँ र सञ्चालन अवधिमा बाँकी दुई करोड रुपियाँ खर्च गर्ने आयोजनाले जनाएको छ । चाँडै सेयर निष्कासन दोर्दी खोलामा निर्माणधीन माथिल्लो दोेर्दी ‘ए’ जलविद्युत् आयोजनाले आगामी मङ्सिर अगावै सेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोजनाका प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेका अनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृति आएपछि स्थानीय र सर्वसाधारणका लागि २५ प्रतिशत सेयर निष्काशन गरिनेछ । स्थानीयलाई १५ करोड रुपियाँ (१० प्रतिशत)  र सर्वसाधारणलाई २२ करोड ५० लाख (१५ प्रतिशत) सेयर निष्काशन गरिने उहाँले बताउनुभयो । स्थानीयलाई १५ लाख कित्ता साधारण सेयर र सर्वसाधारणलाई २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने आयोजनाका प्रबन्ध निर्देशक घिमिरेले बताउनुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस