शनिबार, २३ फागुन २०८२

छाँयामा दार्चुला–तिंकर सडक

दार्चुला, भाद्र १७, २०७५ ।

त्रिदेशीय सीमा जोड्ने दार्चुला–तिंकर सडकको निर्माण कार्य छाँयामा परेको छ । महाकाली लोकमार्गको समानान्तर दूरीमा महाकाली करिडोरको निर्माण थालिएपछि दार्चुला–तिंकर सडक निर्माण छाँयामा परेको हो । कञ्चनपुरको बह्मदेवबाट दार्चुला खलंगासम्म महाकाली करिडोरको लम्बाइ २ सय ९१ किलोमिटर छ । दार्चुला जोड्ने महाकाली लोकमार्ग अत्तरियाबाट दार्चुला सदरमुकाम सम्म ३ सय ८ किलोमिटर छ  । करिब तीन दशकअघि सुरु हुने भनिएको महाकाली करिडोरको दुई वर्षअघिबाट मात्रै निर्माण कार्य सुरु भएको थियो । दुई वर्षअघि उक्त करिडोरमै तिंकर सडक गाभिएपछि निर्माण कार्य सुस्त भएको हो । करिडोरले तिंकर सडक छाँयामा पार्यो, दुहु गाउँपालिका १ का जयबहादुर कुवरले भने, करिडोर र तिंकर सडक अलग–अलग निर्माण हुनुपथ्र्यो । भारतले एकातिर महाकाली किनारै किनार सडक लिपुलेकसम्म पुर्याउन थालेको छ । तर नेपाल तिरको तिंकर सडक १० वर्षदेखि जस्ताको त्यस्तै छ । तिंकर सडकलाई महाकाली करिडोरमा गाभेपछि निर्माण कार्य झनै सुस्त भएको सो क्षेत्रका वासिन्दाको बुझाई छ । सुरुको योजना अनुसार दार्चुला–तिंकर सडक सम्पन्न हुनुपर्ने अवधि यहि वर्ष सकिदैछ । सडक योजना आर्थिक वर्ष २०७५÷०७६ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । महाकाली करिडोर नामकरण भएसँगै निर्माण सम्पन्न गर्ने समयावधि थपेर असार २०७९ बनाइएको छ । यही गतिमा निर्माण अगाडि बढ्ने हो भने तिंंकर सडक सम्पन्न हुन अझै ३० वर्ष लाग्छ । सदरमुकाम खलंगाबाट जिरो प्वाइन्ट मानेर निर्माण सुरु गरिएको उक्त सडकमा अहिलेसम्म ४० किलोमिटर सडकको ट्रयाक खोलिएको भए पनि २० किलोमिटरमा मात्र गाडी गुड्छ  । अढाई वर्षअघि नै ६५ किलोमिटर सडकको ट्रयाक खोल्नका लागि ठेक्का सम्झौता भएपनि अगाडिका निर्माण कम्पनीहरूले आफ्नो काम समयमै गर्न नसक्दा पछिल्ला ठेक्काहरूमा काम हुन सकेको छैन् । तीन वर्षसम्म विष्फोटक पदार्थ छैन भनेर काम गरिएन, अहिले विष्फोटक पदार्थ आएपनि गति दिइएन, उनले भने । अनि कसरी तिंकर सम्म गाडी पुग्छ । जिरो प्वाइन्टबाट करिब ४ किलोमिटरको दूरीमा रहेको राताकाठा भीरसम्म ७ वर्षमा ट्रयाक खुलेको छ । दुहु गाउँपालिका २ हिकिलाका जमिनसिंह बडालले भने, समयमै काम भए अहिले सम्म तिंकर सम्म सडक बनिसक्थ्यो । महाकाली करिडोरले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा सडक निर्माण गर्दैछ । गत वर्षबाट डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न ठाउँमा ठेक्का सम्झौता भएर काम शुरु गरिएको छ । तर सोहि गतिमा तिंकर सडकको काम अघि बढ्न नसक्दा स्थानीयमा निराशा छाएको छ । ४ सय २० किलोमिटर लम्बाइको महाकाली करिडोर ब्रहमदेव–झुलाघाट–दार्चुला–तिंकर सडकमा ८८ किलोमिटर र ६५ किलोमिटर तिंकर सडकमा ट्रयाक खोल्नका लागि ठेक्का सम्झौता भएको छ । अहिलेको गतिले सडक निर्माण नहुने भएपछि पछिल्लो समय जिल्लाबाट निर्वाचित जनप्रतिनिधि तिंकर सडकको जिम्मा नेपाली सेनालाई दिनुपर्ने आवाज उठाउन थालेका छन् । त्रिदेशीय नाका तिब्बत सँग जोड्न छोटो मार्ग तथा व्यापारिक तथा धार्मिक पर्यटकीय दृष्टिकोणले तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिदा उपयुक्त हुनेमा जिल्लाबासीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस