कञ्चनपुर, साउन १६।
कञ्चनपुरमा बस्तीमा पसेको बाघको खोजीका लागि हात्ती परिचालन गरिएको छ।
जिल्लाको बेलौरी नगरपालिका–९, रतनपुरमा बाघको खोजीका लागि हात्ती परिचालन गरिएको हो। मङ्गलबार साँझ रतनपुर स्थित आदर्श नगरमा बाघ सहित दुई वटा डमरु पनि साथमा रहेको स्थानीयले देखेपछि शुक्लाफाँटा निकुञ्ज कार्यालयलाई खबर गरेका थिए।
निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले सूचना पाए लगत्तै निकुञ्जबाट एक पोथी हात्ती (रूपकली) र दुइवटा भाले हात्ती लबप्रसाद र सिद्दप्रसाद) गरी तीन हात्ती सहितको टोली पठाइएको जानकारी दिए। बुधवार साँझ बाघको खोजी गर्न बेलडाँडीमा बास बसेको हात्तीसहितको टोली बिहीवार बेलौरी नगरपालिका–९, कुण्डा स्थित वैजनाथ मध्यवर्ती उपभोक्ता सामुदायिक वनमा बास बसेको छ।
बिहीवार दिउँसोसम्म रतनपुर क्षेत्रमा बाघको खोजी गरेको हात्ती सहितको टोलीले नभेट्टाएपछि साँझ कुण्डा स्थित सामुदायिक वनमा बास बसेको टोलीमा सहभागी निकुञ्जका पञ्च चिकित्सक आभास श्रेष्ठले बताए। बेलौरी नगरपालिका–९ मा यसअघि चितुवा देखा परेको थियो। केही महिना पहिले चितुवाले घरमै गएर बाख्रा मारेको स्थानीयहरूले बताएका थिए।
तर केही दिन देखी उक्त क्षेत्रमा दुई डमरु सहित बाघ देखिएपछि स्थानीयहरू त्रसित बनेका छन्। यद्यपि उक्त क्षेत्रमा बाघ या चितुवा के देखिएको भन्ने यकिन भने नभएको पञ्च चिकित्सक श्रेष्ठले बताए। शुक्रवार बिहानै देखि उक्त क्षेत्रमा हात्ती परिचालन गरेर ड्रोन क्यामेराबाट बाघको खोजी गरिने निकुञ्ज कार्यालयका पञ्च चिकित्सक श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस